arrow

गृह जिल्लामा दुई दिन के गर्दैछन् प्रधानमन्त्री ओली ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
oli-at-jhapa.jpg

काठमाडौँ । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृह जिल्ला झापा पुगेका हुन् ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानेपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १: ३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।  

यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२: ३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उनको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।


त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए । 

प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ