- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । अर्को बैठक बुधबार दिउँसो तीन बजे बस्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
कुइँकेलका अनुसार नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न मानन्धरको निधनप्रति शोक प्रकट गर्दै बैठक सकिएको हो । मानन्धरको सोमबार राती ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सहप्रवक्ता कुइँकेलले भने, ‘शोक प्रस्ताव पारित भएपछि संसद बैठक अघि बढ्दैन ।’ स्थगित हुन्छ ।
सरकारले संविधान संशोधन विधेयक दर्ता गराए देखि एमालेसहितका विपक्षी दलहरुले सदन चल्न दिएका छैनन् । सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । विपक्षीहरुले मोर्चाबन्दी गरी सो विधेयक राष्ट्रहित विपरीत रहेको जिकिर गर्दै फिर्ता लिनु पर्ने अडान राख्दै आएका छन् ।
संसद बैठक नचल्दा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारेको छलफल बीचैमा रोकिएको छ भने, महत्वपूर्ण विधेयक अलपत्र परेका छन् ।
संविधान कार्यान्वयनका लागि गर्नु पर्ने तीनै तहको निर्वाचनका लागि बन्नु पर्ने कानुन सम्बन्धि दुई वटा विधेयक र संविधान संशोधन विधेयक पनि कार्यसूचीमा प्रवेश गरेर थन्किएका छन् । यस्तै, विचाराधिन अन्य विधेयकहरु समेत संसदीय समितिमै अड्किएका छन् । सदनमा पेश हुन पाएका छैनन् ।