भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुने गरी बनाइएको विधेयक पास गर्न दिइएन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
886
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन् । आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरूले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताए ।
उनले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नुपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरूबाट अस्वीकार भएको बताए । उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० औँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताए । भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनुपर्ने बताए । कथं कदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए ।
उनले भने, ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्यो । के बिगार्नुपर्यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनुपर्ने भन्ने केही छैन । अहिले पनि १०-१५-२० वर्ष अगाडिका उजुरीहरू त्यत्तिकै छन् । त्यसकारण हामीले के भन्यौँ भने १५-२० वर्ष अगाडिका उजुरीहरू त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाइ पाएको छ, न कारबाही भएको छ । यस्तो हुनु हुँदैन । त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा गर्यौँ । ५ वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने भनेर कुरा गरे । छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसे कम कारबाही टुङ्ग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरे पनि हुन्छ, नहेरे पनि हुन्छ । किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो । हामीले त्यही पास गरिदियौँ । ५ वर्षसम्म पनि कारबाही नगर्ने, हल्लै हल्लाको देश भएपछि । हल्लै हल्लामा चलेपछि । के गर्ने ? ५ वर्ष हटाउ । उजुरी परेपछि तत्काल कारबाही गर्नुपर्दछ । कथं कदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्छ । त्यसलाई लम्ब्याएर त्यत्तिकै छोडिदिन पाइँदैन ।’