काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।
नेपालले भारतलाई ९५ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो ।
आक्रामक शुरुआत गरे पनि नेपालको पछिल्लो समय ब्याटिङ खस्केको हो ।
कप्तान पूजा महतोले रनआउट हुनुपूर्व ४० बलमा २५ रन बनाइन् ।
त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन्।
यो खेललाई निकै प्रतिक्षाका साथ हेरिएको छ । किनकि नेपालले पाकिस्तानमाथि जित हासिल गरी सनसनी मच्याइसकेको छ ।
समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जित हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ ।
नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।
ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए ।
जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।
त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।
पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ ।
विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो ।
भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ ।
अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ ।
पाँचौँ स्थानका लागि पाकिस्तान र मलेसिया भिड्ने छन् ।