२०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने प्रम ओलीको घोषणा [भिडियो]
व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको छ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
445
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्।
उनले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकाको व्यवस्थापन गर्दै सरकारले अभिभावकत्व दिने बताए । उनले सडक बालबालिकाहरूको व्यवस्थापन गर्दै उनीहरूलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उनको दाबी छ । उनले मानवीय वृत्तमा केही समस्याहरू रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरूलाई शिक्षा र नवीनतम प्रविधिहरूको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताए ।
उनले भने, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रस्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् । मानवीय वृत्तमा समस्याहरू होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकीकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरूलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रूपमा शासन होइन सेवा दिने हो । अभिभावकविहीन बालबालिकाहरू खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौँ भनेर हामीले व्यवस्था गर्न थालेका हौँ । सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौँ । अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरूको उद्धार गरेर व्यवस्थापन गरिसक्छौँ । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौँ । त्यस अवस्थालाई अन्त्य गर्छौँ । बालबालिकाहरूलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरूलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिस्पर्धा गर्ने नागरिककै रूपमा अभिभावक बिहिलाई सरकारले अभिभावकत्व दिएर अगाडि बढाउँछ ।’
व्यवस्था बद्लिए पनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट माथि उठाएको दाबी गरे । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरू देखिए पनि आम रूपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उनले बताए । उनले पूर्वपश्चिम राजमार्गहरू निर्माण, उद्योगहरूको स्थापना र स्वास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरू भएको उनको भनाइ छ ।
उनले भने, ‘कतिपय मान्छेहरूले भन्ने गरेका छन् व्यवस्था बद्लियो अवस्था बद्लिएन भने । तर व्यवस्था पनि बद्लियो अवस्थामा पनि बद्लियो । हिजो ४० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखा मुनी जनता थिए । मैले प्रधानमन्त्रीबाट छोड्दा १७ प्रतिशतमा झारिएको थियो । नौ लाख मानिसलाई निरपेक्ष गरिबिको मुनिबाट माथि उठाइएको थियो । तीन वर्षमा यो सङ्ख्या बढेर अहिले २० प्रतिशतमा पुगेको छ । त्यस्ता केही नकारात्मक प्रवृत्तिहरू देखिए पनि आम रूपमा देशको अवस्था र जनताको अवस्था हिजोको जस्तो छैन । यसै गरी सवारी थिए हिजो ? थिएन नि त । झापामा म जाँदा एक जनासँग मात्र जिप थियो । अहिले कति मोटरगाडी छन् भनी साध्य छैनन् । नयाँ मध्य पहाडी राजमार्गगरि तीन वटा राजमार्ग बनाएका छौँ । २० दिनमा मध्पहाडी राजमार्ग कटाउन सम्भव थियो । आज चाहिँ भएको छ । हजारौँ पुलह रु बनेका छन् । केही उद्योगहरू मासिए पनि धेरै उद्योगहरू स्थापना भएका छन् । व्यवस्था परिवर्तन भएको बेला भन्दा आज निर्यात पनि बढेको छ । अर्थतन्त्रको आकार बढेको छ । मानिसहरूको सरदर आयु ४२ वर्ष थियो । पछि ४९ वर्ष पुगेको थियो । आज सरदर आयु ७२ वर्ष पुगेको दुई वटा कुराले । एउटा मानिसमा सम्पन्नता आएको छ । खान लाउन पाएको छ । अर्को, जीविकाको लागि भारी नै बोक्नुपर्ने अवस्था एकदमै न्यून भएको छ । अर्को स्वास्थ्योपचारको राम्रो व्यवस्था भएको छ । किड्नी ट्रान्सप्लान्ट गर्ने सुविधा नभएको भए मेरो अस्ति साउनमा १८ औँ पुन्यतिथि भइसक्थ्यो ।’