माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
573
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने उनले घोषणा गरेका छन् ।
चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए ।
उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए ।
उनले सो संस्थाको प्रशंसा गरे । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे ।
प्रधानमन्त्रीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे ।