प्रम ओली दाबी - भूकम्पपछिको पुनर्निर्माणमा विश्वमै स्थापित गर्न सफल भयौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
503
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढङ्गले गरेको बताएका छन् । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूकम्पपछिको पुनर्निर्माण नमुना पुनर्निर्माणको रूपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गरे ।
उनले आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे आठ लाख घरहरू पुनर्निर्माण गर्ने गरी स्थानीयलाई हस्तान्तरण गरेको बताए । उनले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण गरिसकेको बताए । उनले भूकम्पलाई रोक्न नसके पनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पीय असरको सामना हामीले असाधारण ढङ्गले गरेका छौँ । २०७२ सालको भूकम्पले सबै घरहरू भत्काएको थियो । हामीले किचन र बाथरुमसहितका घरहरू निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेका छौँ । त्यति सकिँदो रहेछ । त्यसैगरि हामीले अठोट गरेपछि साढे आठ लाख घरहरू, आवासहरू निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्यौँ भने धेरै ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण गर्यौँ । बाटोघाटा, खानेपानी, अस्पतालहरू, शिक्षालयहरू, सरकारी कार्यालयहरूको पुनर्निर्माण गर्यौँ । नेपालको भूकम्पपछिको पुनर्निर्माण एउटा नमुना पुनर्निर्माणको रूपमा हामीले विश्वमै स्थापित गर्न सफल भयौँ । हामीले यस्ता कामहरू गर्न सक्दा रहेछौँ भने क्षति भएपछि भन्दा क्षति हुनुभन्दा अगाडि क्षति न्यून कसरी गर्ने भन्नेबारे सोच्न आवश्यक छ । घरलाई अलिकति भूकम्प प्रतिरोधी बनाउनसक्यौं भने त्यति छिटो भत्किँदैन । त्यसका लागि भूकम्प प्रतिरोधी घरहरू निर्माण गर्नुपर्ने आवश्यकता छ । ’