arrow

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नतिको शिलान्यास ओलीले गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
kp-oli-10-07.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका-१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्ने बताए ।

सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताए । 

आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी-पिपरा र वनगाई-गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

पूर्व-पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ