राधिकाको स्वीस बैङ्कमा रकम भएको भन्ने विषयको ओलीले जनाए आपत्ति [भिडियो]
‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक, म भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
711
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्याण्डको बैङ्कमा खाता नभएको भन्दै आपत्ति जनाएका छन् । बुधबार काठमाडौँमा ओलीले पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैङ्कमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उने भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छ। भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरे ।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन । हुनतः हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैङ्कमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरू हुँदो रहेनछ क्या ।’
उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सर्बेसर्बा हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे ।
“संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफैँ कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीहरूबाट सक्रिय साथसहयोग प्राप्त हुने विश्वास लिएको छु ।”
ओली स्वयम माथि भने गिरीबन्धु, ओम्नी, यति लगायतमा भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ ।