काठमाडौं । मौसममा आएको परिवर्तनले चिसो बढेपछि देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । तर हिमपात र फाटफुट आएको वर्षाले हिउँदे खेती सप्रने भन्दै कृषक खुसी भएका छन् । छाप्रोको वासमा रहेका भूकम्प पीडित र गरीवलाई भने चिसोले समस्या पारेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले मंगलबार पूर्णरुपले मौसममा सुधार हुने बताएका छन् । उनले आइतबारको तुलनामा सोमबार धेरै सुधार भइसकेकाले मंगलबार पूर्णसुधार आउने बताए ।
जिरी, जोमसोममा बढी वर्षा भएको छ भने काठमाडौंमा केवल ०.२ मिमिमिटर वर्षा भएको महाशाखाखले जनाएको छ । जम्मु कस्मिरदेखि आएको पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा शनिबारबाट छिटपुट वर्षा हुन थालेको हो ।
मौसमविद् पौडेलले सोमबार बिहान तराईमा बिहान हुस्सु लागेको बताए । उनले दिउँसो भने मौसममा सुधार हुने बताएका छन् ।
त्यस्तै सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम तथा पूर्वमासमेत मौसम बदली भइरहेको जनाएका छन् । काठमाडौंमा साँझतिर मौसम बदली हुने समेत मौसमविद् पौडेलले बताए ।
महाशाखाका अनुसार यसपटक वर्षा भन्दा बढी हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । त्यस्तै हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।
गोरखा, जोमसोम, जुम्ला, मनाङ, रसुवा, सिन्धुपाल्चोक, दोलखाको उपल्लो भागमा हिमपात भएको हो ।
चिसो भएसंगै भूकम्पपीडितको भने कन्तविजोग भएको छ ।