arrow

सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
hikmatkumar-karki-2080-06-20.jpg

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा सरकारले धेरै महत्त्वपूर्ण काम गरिरहेको बताएका छन्। 

कोशी प्रदेश सभाको सातौँ वार्षिकोत्सव समारोहको मंगलबार उद्घाटन गर्दै उनले विगत वर्षभन्दा यस वर्ष भौतिक र वित्तीय क्षेत्रमा पनि प्रगति हासिल गरेको दाबी गरे । 

अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकारको प्रशासनिक खर्च कम भएको बताउँदै मुख्यमन्त्रीले केन्द्रीकृत सोचका कारणले प्रदेश संरचनाले उचाइ प्राप्त गर्न समस्या भइरहेको टिप्पणी गरे।

उनले प्रशासकीय, वित्तीय र राजनीतिक सङ्घीयताले मात्र प्रदेश संरचना बलियो हुने भन्दै सरकारले केही समयपछि प्रदेश राजस्व कार्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए। 

लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको माध्यमबाट प्रदेशमा आर्थिक विकासको जग बसाल्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उनले सङ्घीय सरकारले प्रदेशलाई अन्तःशुल्क वा मुख्य अभिवृद्धि करमध्ये कुनै दिएमा प्रदेश आर्थिक रूपले सबल हुने बताए।

मुख्यमन्त्रीले जग्गाको प्राप्तिसँगै आगामी आर्थिक वर्षमा प्रदेशका दिगो संरचनाको निर्माण कार्य सुरू हुने बताउँदै प्रदेश सरकारले योजना बैंकमार्फत योजना संकलन गरी योजना छनोट गर्ने र विकासको कार्यलाई अगाडि बढाउने बताए।

कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले दक्ष जनशक्ति, अनुभवको अभावमा पनि प्रदेश धेरै कानुन बनेको बताउँदै कानुनजस्तो महत्त्वपूर्ण विषयमा अनुभव, विज्ञता र दक्ष जनशक्तिको ठूलो भूमिका रहने कुरामा जोड दिए। 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर छ भन्दै प्रदेशसभालाई बलियो बनाउन सदस्यहरूको भूमिका प्रभावकारी हुनुपर्छ भने ।

कोशी प्रदेशका पूर्वसभामुख प्रदीपकुमार भण्डारीले व्यवस्थापिकालाई सबैको स्वीकार्य बनाउन हरेक क्षेत्र वा वर्गको सहयोग हुनुपर्छ भने । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्दबहादुर आङ्बोले प्रदेश सरकारले जनताको चाहना, आकाङ्क्षा र निर्वाचनताका गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक विद्या चाम्लिङ, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पनि प्रदेशसभा स्थापनाको शुभकामना दिएका थिए ।

 प्रारम्भदेखि प्रविधि क्षेत्रमा कार्यरत कर्मचारी वीरेन्द्र चौधरीलाई एक हजार एक सय ११ राशिको पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ