arrow

बस्दै प्रतिनिधि सभा बैठक

अध्यादेशमाथिको अस्वीकारका प्रस्तावउपर छलफल गरी पारित गर्ने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
sabamukh-meet.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल गरेर टुङ्ग्याइने भएको छ । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रस्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेको कसरी समय व्यवस्थापन गरेर टुङ्ग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

उनकाअनुसार बिहीबारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रस्तावमा छलफल हुने र अध्यादेश बिहीबारकै बैठकमा पारित गर्ने गरी तयारी गरिएको छ । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्ने कार्यतालिका निर्धारण गरिएको बताए । उनले बिहीबारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको बताए । 

उनले भने, ‘भोलिको बैठक अध्यादेशमा अस्वीकारका प्रस्ताव आएको छ । अध्यादेश भोलि पारित हुने गरीको प्रक्रिया अघि बढ्छ । भोलि अध्यादेश पारित हुन्छ । प्रमुख प्रतिपक्ष दलका नेताले बोल्नुहुने भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्रीले बोल्ने भन्ने कुरा छ । भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलि संसद्मा पेश गर्दछौँ । सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि पेश हुन्छ । आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन छ, त्यो पनि भोलि पेश हुन्छ ।’ 

सभामुख घिमिरेसँगको बैठकमा संसद्को क्यालेण्डरबारे छलफल भएको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम तय भएको र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने बताए । उनले अध्यादेशको विपक्षमा परेको प्रस्तावमा संसद्मा एकजनाले प्रस्तावका रूपमा लैजाने र प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावउपर समर्थकहरूले बोलेर विषय टुङ्ग्याइने बताए । अध्यादेशको प्रस्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रस्तावकले फिर्ता लिन सक्ने गरी कार्यतालिका बनाइएको बताए । प्रस्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रस्तावलाई निर्माणार्थ एक पटक मात्रै प्रस्तुत गर्ने जानकारी दिए । 

उनले भने, ‘आजको मुख्यतया हाम्रो क्यालेण्डरको विषयमा र भोलि बस्ने संसद बैठकको कार्यतालिकामाथि नै छलफल थियो । प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम छ, स्वास्थ्यमन्त्रीले बोल्ने कार्यक्रम छ । अध्यादेशका बारेमा धेरै नै अस्वीकारका सूचनाहरू प्राप्त भएका छन्, ५१ वटा सूचना प्राप्त भएका छन् । त्यसलाई कसरी छलफलमा लैजाने भन्नेमा छलफल केन्द्रित भएको थियो । एउटा अध्यादेशमाथि एक जना प्रस्तावक हुने र छलफलमा सबै विरोधको सूचना दिनेले बोल्ने, पछि मन्त्रीले जवाफ दिने र जसले त्यसको नेतृत्व गरेको छ, त्यो प्रस्तावकले फिर्ता लिने वा नलिने निर्णय गरिसकेपछि एउटा प्रस्तावलाई निर्माणार्थ एक पटक प्रस्तुत गर्ने ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको अध्यादेशमाथि अस्वीकारको प्रस्तावउपर छलफल गरेर कसरी टुङ्गो लगाउने भन्नेबारेमा छलफल भएको बताए । उनले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरू राख्ने र त्यसलाई निर्माणार्थ प्रस्तुत गर्ने सहमति बनेको बताए । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल हुने कार्यतालिका रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ