भारतको दिल्ली विधान सभा निर्वाचनमा यसपालि अप्रत्याशित परिणाम आयो । यो परिणाम ११ वर्षअघि आएको अप्रत्याशित परिणाम भन्दा कम थिएन । भारतको केन्द्रीय राजनीतिमा भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) को प्रभाव रहँदै आएको छ । त्यो प्रभाव ११ वर्षअघिसम्म दिल्लीमा पनि कांग्रेस र भाजपाकै थियो ।
कांग्रेसले लामो समय दिल्लीको राजनीतिमा हालीमुहाली गर्यो । त्यसपछि भाजपा आयो र भाजपा पनि २७ वर्षसम्म सत्तामा रहन सकेन । त्यसपछि कांग्रेस सन् १९९८ देखि १५ वर्ष सत्तामा रह्यो । ११ वर्षदेखि अप्रत्याशित रुपले उदाएको आम आदमी पार्टी (आप) ले पकड जमायो ।
आप आउँदा भाजपा र कांग्रेस दुवै दलले आफूलाई निरीह ठाने । सबैभन्दा बढी समय राज गरेको कांग्रेस पत्तासाफ नै भएको छ भने भाजपा निकटतम प्रतिद्वन्द्वी रहिरह्यो ।
७० सिट रहेको दिल्ली विधान सभामा चार कार्यकालको मतको आँकलन गर्ने हो भने सन् २०१३ को चुनावमा मत प्रतिशत प्रतिस्पर्धात्मक थियो । भारतीय निर्वाचन आयोगका अनुसार सन् २०१३ मा भाजपाले ३१ सिट जित्दा भोट प्रतिशत ३३.०७ रहेको थियो । पहिलो पटक राजनीतिमा पदार्पण गरेको आपले २८ सिट जित्ने क्रममा २९.४९ प्रतिशत मत ल्यायो । कांग्रेस भने १५ वर्ष निरन्तर सत्तामा रहेको अवस्थामा ८ सिटमा खुम्चियो भोट २४.५५ प्रतिशत ल्यायो । त्यसपछिका तीन चुनावको आँकडा हेर्ने हो भने कांग्रेस क्लिन स्वीप भएको छ । आपले दुई कार्यकाल चमत्कार गर्दा अन्तिम कार्यकाल निकै खस्केको छ भने भाजपाले सन् १९९३ कै अवस्थालाई दोहोर्याएको छ ।
आँकडामा हेर्दा सन् २०१५ मा भाजपाले जम्मा ३ सिट जित्यो । मत प्रतिशत भने ३२.१९ रहेको थियो । आपले कमाल गर्यो । ६७ सिट जित्ने क्रममा ५४.३४ प्रतिशत मत जित्यो । कांग्रेस ९.६५ प्रतिशत मतमा झर्यो । दिल्लीका मतदाताले कांग्रेसलाई बढारे । कुनै पनि सिट कांग्रेसले जितेन ।
सन् २०२० मा भाजपाले सिटमा केही सुधार गर्यो र भोट प्रतिशत पनि बढायो । भाजपाले ८ सिट जित्दा भोट प्रतिशत ३८.५१ रह्यो । आपले पाँच सिट गुमाएर ६२ मा झर्दा मत प्रतिशत पनि घटेर ५३.५७ पुग्यो । कांग्रेसले इतिहासकै सबैभन्दा कम ४.२६ प्रतिशत पायो ।
सन् २०२५ मा भाजपाले कमाल गर्यो । ‘मोदी भए सबै सम्भव छ’ भन्ने भाजपाको नारा सही सावित भयो । केन्द्रको राजनीतिमा प्रधानमन्त्री मोदीको भाजपाले गत निर्वाचनको तुलनामा कम सिट जितेको भए पनि दिल्लीमा सन् १९९३ कै स्थितिमा कब्जा जमाउँदा भने मोदीले असम्भवलाई सम्भव बनाउँछन् भन्ने प्रमाणित नै भएको छ । भाजपाले सन् १९९३ मा ४९ सिट जितेको थियो ।
अहिले भाजपाले दुई तिहाई सिट जित्यो । ४७.१७ प्रतिशत मत पायो । आप ४० सिट गुमाएर २२ सिटमा झर्न बाध्य भयो । ४३.५७ प्रतिशत भोट ल्याए पनि सिट बढेन । कांग्रेस ६.३४ प्रतिशत मत ल्याए पनि एक सिटसमेत जित्न सकेन । लगातार तेस्रो पटक कांग्रेसको सिट संख्या ‘शून्य’ रह्यो । आप नराम्ररी पराजित हुने क्रममा आपका प्रमुख एवं तीन पटकका मुख्यमन्त्री अरविन्द केजरीवालसमेत पराजित भए ।
कांग्रेस आफू ‘जिरो’ भए पनि आपलाईसमेत खाल्डोमा जाक्न सफल भएको छ । कांग्रेसले आपलाई १४ सिटमा हरायो । किनकि १४ सिटमा आपले हारेको मतान्तर भन्दा कांग्रेस उम्मेदवारले ल्याएको मत बढी थियो । यदि आप र कांग्रेसबीच गठबन्धन भएको भए सम्भवत गठबन्धनले बहुमत ल्याउन पनि सक्ने थियो ।
केजरीवालको चटके राजनीति र हारको कारण
११ वर्षदेखि शानसहित सत्ताको बागडोर सम्हालेको आपका प्रमुख केजरीवालको यतिछिटै बहिर्गमन हुनु कम आँकिएको विषय हैन । उनको आगमन जसरी भयो बहिर्गमन पनि त्यसरी नै हतारमा भएको छ ।
केजरीवाल आपका संस्थापक भए पनि उनको आवरणमा भने सत्याग्रही अन्ना हजारे थिए । सन् २०११–१२ मा अन्नाले थालेको भ्रष्टाचार विरोधी आन्दोलनबाटै आपको जन्म भएको हो । सो जनलोकपाल विधेयक मागसहितको आन्दोलनले भारतभर जनतालाई आकर्षित गर्न सफल भएको थियो । आन्दोलनका बेला केजरीवाल सामाजिक कार्यकर्तासँगै आन्दोलनका प्रमुख नेतामध्ये एक थिए ।
खासमा दिल्लीका जनता कांग्रेसको गतिविधिप्रति रुष्ट थिए । सँगसँगै त्यो दागको भागेदारी भाजपा पनि थियो । दिल्लीका सुझबुझ जनताले अन्ना हजारेको छायाँका रुपमा केजरीवाललाई देखे ।
सन् २०१२ मा केजरीवालको आप घोषणा भयो । अर्को वर्ष नै भएको निर्वाचनमा ठूलो सफलता हासिल गर्यो । नभन्दै कांग्रेसको समर्थनमा आपले सरकार नै बनायो ।
तर केजरीवालले बहुचर्चित जनलोकपाल विधेयक पारित गर्न नदिइएको भन्दै ४९ दिनमै राजीनामा दिए । आपका मुद्दामा सहमत जनाएका दिल्लीवासीले त्यसपछिका दुई कार्यकाल केजरीवाललाई दुई तिहाईसहितको भारी मत दिए ।
केजरीवालले जसरी लगातार चुनाव जिते त्यसरी नै आप आफ्नो एजेन्डाबाट अगाडि बढ्न सकेन । उनले काम नै गर्न चाहेन । हुँदा हुँदा दिल्लीका जनताले चाहँदै नचाहेको एजेन्डामा केजरीवाल घुस्न थाले । जबकि उनी आफैँ विभिन्न मुद्दामा फसे । सन् २०२१ मा नयाँ शराब नीतिमा उनी डुबे ।
निजी व्यवसायीहरुलाई लाइसेन्स बाँडे । सरकारी ठेक्का हटाए । यसबाटै उनी भ्रष्टाचारको दलदलमा फसेको दिल्लीबासीले बुझे । त्यसैले त अहिले सित्तैको बिजुली, सुधारिएको शिक्षा, छिमेकमा क्लिनिकजस्ता लोकप्रिय कार्यक्रम र योजनाले दिल्लीबासीलाई छोएन ।
उनका हारका पछाडि कम्तीमा आधादर्जन ठूला कारण छन् । त्यही शराब नीतिको दलदलमा फसेका केजरीवाल १७७ दिन जेलमा रहे । भाजपाले यसलाई राम्रो मुद्दा बनायो । केजरीवालले आफूलाई इमानदार व्यक्तिका मुखिया भन्ठान्थे । तर उनी नै बेइमान देखिए ।
केजरीवालले सामान्य जीवन बिताउने बताउँथे । तर उनले सरकारी बंगला बनाए । शीशमहल पुनःनिर्माणमा उनले ४५ करोड खर्च गरे । भ्रष्टाचारको ढोका खुल्यो । थुप्रै मन्त्री भ्रष्टाचारमा पक्राउसमेत परे ।
आपको हारका पछाडि भाजपा नै चट्टान बन्यो । भाजपाले ६८ जना उम्मेदवार मैदानमा उतार्दा ४६ जना नयाँ अनुहार आए । यसले पनि आपलाई आँकडा लगाउन गाह्रो भयो । अर्कातर्फ महिला मतदाताले केजरीवाललाई चिने अनि आशा भाजपामै देखे । अर्थात् ६०.९२ प्रतिशत महिलाले यसपालि भोट हाले र त्यो मत भाजपालाई बढी गएको स्पष्टै भयो । निर्वाचन आयोगका अनुसार ४० विधान सभा क्षेत्रमा महिलाको भोट पुरुषको भन्दा बढी खसेको थियो ।
यसपालि नरेन्द्र मोदीले दिल्लीलाई भरोसा दिलाए । विधान सभाको निर्वाचन भए पनि मोदीले आफूलाई सम्झेर भोट हाल्न गरेको अनुरोध दिल्लीवासीले सुने ।
नेपालमा तरङ्ग
भनिन्छ नि दिल्लीमा पानी परे काठमाडौँमा छाता ओढिन्छ । अर्थात् जे दिल्लीमा हुन्छ त्यसको असर काठमाडौँमा पनि पर्छ ।
बस् यही तरङ्गले गर्दा अहिले काठमाडौँ तरङ्गित भएको छ । कारण हो आपको शैलीमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी । त्यस्तै केही अन्य पार्टीहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसमेत त्यसमा छन् ।
जनमत र नागरिक उन्मुक्तिले तराई र मधेस क्षेत्रमा आफ्नो पकड राखे पनि रास्वपा भने एकाएक देशभर चम्केको छ । सबैभन्दा ठूलो हमला त उसले काठमाडौँ उपत्यकामै गरेको छ ।
उसले प्रत्यक्षतर्फ आठ सिट जित्दा समानुपातिकमा १३ सिट जितेको छ । २०७९ सालको असारमा गठित पार्टीले पाँच महिनाकै अवधिमा भएको प्रतिनिधि सभा निर्वाचनमा चुनाव लडेर चौथो ठूलो दल भएर राष्ट्रिय दलमा आफूलाई उभ्याउनु चानचुन होइन ।
रास्वपाप्रति जनताले गरेको भरोसा गज्जबकै रह्यो । तर जसरी अरबिन्द केजरीवालले भ्रष्टाचार गर्दिन भनेर आफैँ भ्रष्टाचारमा मुछिए त्यसरी नै जनताका अधिकारलाई सुनिश्चित गराउने, कसैलाई पनि अन्यायमा पर्न नदिने र सुशासन कायम गर्ने भनेर गृहमन्त्री भएका रास्वपाका सभापति रवि लामिछाने भने केजरीवाल भन्दा पनि अझ बढी सजाय भागी हुन पुगेका छन् ।
दोहोरो नागरिकता (अमेरिका र नेपाल) को प्रकरणमा उनले उपप्रधान तथा गृहमन्त्रीजस्तो पदमात्र गुमाएनन् उनी त सांसदबाटै हात धुन पुगे । उनले पुनः नेपाली नागरिकता लिएर चुनाव लड्न पाए र चुनावमा अझ बढी मत लिएर विजयी भई फेरि गृहमन्त्री भए ।
उनको दोहोरो राहदानी प्रकरणको छानबिन थाँतीमै छ । उनी फेरि सहकारी ठगी प्रकरणमा मुछिए । अमेरिकाबाट फर्केर नेपाल आएपछि सञ्चारकर्मलाई पुनः निरन्तरता दिने क्रममा उनी मिडियाका मालिक नै बने । जसका कारण उनी विभिन्न पाँच ओटा सहकारीमा जोडिएर ठगी गरेको आरोप उनीमाथि छ ।
यो विषयमा धेरै लेख्नु उपयुक्त हुँदैन । किनकि मुद्दा अदालतमै छ । यद्यपि उनी चार ओटा सहकारी ठगीमा अदालतबाट दोषी नदेख्नुपर्ने कुनै कारण नभएको, आरोपितले कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन, कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन भन्दै धरौटीमा रिहा गरिरहेको छ । अहिलेसम्म उनले धरौटीका लागिमात्रै दुई करोड ७९ लाख रुपैयाँ बुझाइसकेका छन् ।
उनीमाथि सहकारी ठगी सँगसँगै सांगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि कायमै छ । यस्तो अवस्थामा अब रास्वपाको स्थिति के हुन्छ भन्ने प्रश्न अहम् छ । दिल्लीको वर्षा र काठमाडौँको छाता ओढ्ने प्रवृत्तिभित्र रास्वपा प्रत्यक्ष मुछिएको छ ।
रास्वपाका अन्य नेता र मन्त्री भएकाहरुको बारेमा लेखिरहनु उपयुक्त छैन । जसरी ६७ सिट जितेको आप २२ मा खुम्चियो त्यसरी नै मिसन ०८४ भन्दाभन्दै आचरण सुधार नगर्ने हो भने रास्वपा पनि नखुम्चेला भन्न सकिँदैन ।