—मोहन सिटौला
अमुक महतारी अतीत की गाथा
कति थे चिन्तन, पीडा, व्यथा ?
लोकालोकमा प्रष्ट थे मायाँ
छायाँ सारा कार्य र काया
शब्द नखुल्ने, ज्यान सहन्थ्यो
न्याय कहाँ थ्यो ? हर्दम अस्त
पञ्च महाभूत हेरिरहन्थ्यो !
ईश्वर एक लोग्ने प्यारो
दीप्त, विवेकी मनको तारो
मानवधर्मी मृदु ममताका
समाजसेवी विकासवाला
शाशु शशूरा र उनी सहारा
माइती प्यारा तर ती डाँडा
पारी गए छन् ममता सारा
छर्दै सवतिर, दुःख र काँडा
सत्य र श्रमले फार्दै काँडा
बिते दशकौ, अगणित पाइला ।
ईश्वर आस्था, भज्दै नित्य
नदेखी कहीं नै खोजी सुचित्त
सत्य र श्रमले पक्कै मिल्छ,
सुन्दर सन्तान, ऐश्वर्य, आयु
देऊ प्रभु हे भाग्य उठाऊ !
निशी दिन घरमा सुख जुटाऊ
भन्दै, खप्दै , पीना शरीर
पारी रिजाई शाशन धेर ।
ममता, क्षमता सहन सान
मानापमान कर्तव्य जान
सिर्जनशील, कार्यपरायणी
सहनशील नारी धरणी !
मधुमय माता दुख निवारिणी
अञ्जान तापनि ज्ञानी नारी
सदार्द्र चित्ता मधुमहतारी !
सुधारस त्यो जीवनधारा
वहाऊ जननी करुणाधारा
दुःख दिएँथें, भोक हटाऊ
ममता पाऊँ, मामली जाऊँ
बाल विलोडन क्रन्दन गर्दा
मामली छैनन् भन्दै पर्दा
खोली वास्तव सत्य र मर्म
आँशू सँगमै करुण कहानी
निरीह कथा कहीथ्यौ गारो
दुखको, तिमीले पुत्रमा प्यारो !
एक्लो थिएँ म क्रन्दन चर्को
असह्य पीडा, झर्को, अर्को
पिडीत कहानी मार्मिक गाथा
खेपी ,सह्यारी आसासाथ
ममता, मर्म, धर्म र सत्य
साथ सुरक्षा गर्दै नित्य
पाली, बढाई, नीत मलाई
नूतन आँकुरा हामी सवलाई
कर्म र शर्म स्वच्छ देखाई
यस जीवनको यात्रा चलायौ
जीवनी स्वच्छ मार्ग लगायौ !
दीर्घजीवी भै बाँच्न तिमीले
भव्य जितीछ्यौ शुभाशिसले
दिव्य भावको महिमा महीको
अटल, अठोट, कर्मठ कार्य
लाग निरन्तर नित्य भनिछ्यौ
मानवकाया मन्दिर बन्दै
स्वयम ईश्वर पावन बन्दै
सुहृदय, पुन्य भावना भन्दै
काव्य, कहानी, सकल निखन्दै
अमुक, अलिखित शास्त्र बनीछ्यौ ।
अब त मनमा सुख समेली
सानो बासलाई भूस्वर्ग बनाई
बस हे माता जीवीत कहानी !
गर्छु म पूजा जानी नजानी ।
ममता खानी, माया अनन्त
सवमा सन्देश सुन्दर सन्त
दिंदै पलपल अमृत धारा
वहाऊ जननी प्रेमकोधारा
शिरमा थाप्छु नीत निरन्तर
दूर छु माता भाव नजीक
सहृदयी, न्यानो, भावुक सेवक
काव्याश्रुमा भाव बहाई
खोज्दछु शान्ति यो मनलाई
सक्दिन तिर्न, लाखन बार
ढोग म गर्छृु बारम्बार !
गम्भीर हुन्छ दिल यो गति पाउँदैन
‘आँशू सिवाय रसिलो अरु आउँदैन’
-न्यूयोर्क , नोभेम्बर २५, २०१५