राष्ट्रिय सभा वृद्धाश्रम भएको छ भन्ने ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति संसदमै आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
2.7k
Shares
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रिय सभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधि सभाका सांसद शाहीले ‘राष्ट्रिय सभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । “राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रिय सभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उनले भने ।
सांसद जयन्तीदेवी राईले सांसद शाहीले ‘राष्ट्रिय सभालाई वृद्धाआश्रम र केही दिनको पाहुना’ भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् । “सांसद शाहीले राष्ट्रिय सभाको विशेष अधिकारको हनन गर्नुभएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्दछु, राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्नुपर्छ”, उनले भनिन् ।
त्यस्तै नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखेको बताए ।
उनले वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा धेरै भएको बताए । उनले बाँचेको खण्डमा तपाईं पनि वृद्ध हुनुहुन्छ भन्दै मुखारविन्दबाट बोल्न आग्रह गरे ।
उनले भने, ‘म खेद प्रकट गर्दछु । प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन् । राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनि तथानाम सरापेका छन् । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ । यहाँ कुरा विधेयकमा ल्याएर तथानाम भनेपनि प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ । किनभने वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा ज्यादा उमेरका छन् । सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ । बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ । अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ । सत्यं ब्रुयात, पियं ब्रुयात न ब्रियात सत्यमा प्रियं ।’