सरकारलाई नागरिकको जीवन रक्षा गर्न आग्रह गर्दै सांसद पौडेलले भने – विषादी औषधि होइन विष हो
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
2.5k
Shares
काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले आम नागरिकको जीवनसँग नखेल्न आग्रह गरेका छन् ।
सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका पार्टी कार्यालयका मुख्य सचिवसमेत रहेका पौडेलले विषादी औषधि होइन विष हो भन्ने हेक्का राखी आम नागरिकको जीवन रक्षा र प्रवद्र्धनका लागि उचित कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
उनले सम्बोधनका क्रममा तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकलाई थप निराश, पीडित, प्रताडित र आक्रोशितमात्र बनाएको नभइ क्यान्सर, मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर पर्ने गरेको तथ्य र तथ्याङ्कले प्रमाणित गरेको उल्लेख गरेका छन् ।
सांसद पौडेलले ‘स्वस्थ खाना स्वस्थ जीवन’ मानिसको आधारभूत आवश्यकता रहेको भन्दै खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नेपालको संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धि हक र धारा ३६ मा उल्लेखित खाद्य सम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन भएको बताए ।
सम्बन्धित निकायले समयमै ध्यान दिन नसक्नु, प्रभावकारी अनुगमन नहुन र त्यस्ता विषादी प्रयोग गरिएका गुणस्तरहीन खाद्य सामग्रीको तत्काल नष्ट नगरिनुले नागरिकको जीवनमा थप जटिलता सिर्जना गर्ने देखिएकोसमेत सांसद पौडेलले बताए ।
अन्त्यमा सांसद पौडेलले ‘विषादी औषधि होइन, विष हो’ भन्ने हेक्का राखी आम नागरिकको जीवन रक्षा र प्रवद्र्धनका लागि उचित कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।