केआईआईटी घटनाबारे परराष्ट्रमन्त्री देउवा र ओडिसाका मन्त्री सुरजबीच कुराकानी
नेपाली विद्यार्थीलाई होस्टल फर्काएर सुरक्षित वातावरणमा पठनपाठनको प्रवन्ध गरिएको मन्त्री सुरजको भनाइ, नेपाल–भारतको सुमधुर सम्बन्धलाई मजबुत बनाउँदै लगिने विश्वास
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
569
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छिन् ।
मन्त्री डा राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन् ।
सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।
साथै उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा देउवालाई गराएका थिए ।
त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानूनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिएका थिए ।
कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट खालको रहेको र यो सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएका थिए ।
यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।
मंगलबार मात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका छन् भने भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका थिए ।
परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीहरुसँग सार्जजनिक रुपमा माफी माग्नुका साथै विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई बर्खास्त गरी कारबाही गरेको छ ।
भारतीय दूतावासले पनि भारतको जुनसुकै कुनामा रहेका नेपाली विद्यार्थीको सुरक्षा गरिने बताइसकेको छ ।