प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे अजयबाबु शिवाकोटी भन्छन् – दानमा पाएको विषय होइन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले ल्याएका कुनै पनि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हुन नहुने बताएका छन् ।
प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन अन्तर्गत बुधबार काठमाडौँको साँखुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका पूर्व महासचिवसमेत रहेका शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको विषय नभएको बताए।
‘विश्वभर सफ्ट पावरका रूपमा रहेको संचार माध्यमलाई इग्नोर गर्दा धेरै सरकारहरू पछुताएका छन् । मिडियाको कुरा इग्नोर गर्ने होइन सुन्ने हो। सरकारले मिडियाको कुरा सुन्नुको साटो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू ल्याएर मिडियालाई तर्साउन र स्वतन्त्रताको घाँटी निमोठ्न खोज्दैछ’, शिवाकोटीले भने।
उनले अगाडि थपे, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको विषय होइन, मिडिया सरकारको कन्ट्रोलमा हुनु हुँदैन, सरकारले ल्याउने विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने हुनु हुँदैन।’
उनले नेपाली कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिमायती भएको भन्दै लोकतन्त्रको जग बलियो बनाउन लोकतन्त्रमा प्रेसलाई नै कमजोर होइन बलियो बनाउनु पर्नेमासमेत जोड दिए।
शिवाकोटीले कांग्रेस र प्रेस युनियनको सम्बन्धसमेत सुधार गर्दै जानु पर्ने बताए। यस्तै ट्रेड युनियन अभियानलाईसमेत युनियनले सशक्त बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘पत्रकार महासंघले पनि ट्रेड युनियन अभियान चलाउन कमजोरी गर्नुहुँदैन, त्यसको नेतृत्व युनियनले नै गर्नुपर्छ’, शिवाकोटीले भने ।