केआईआईटीमा पढ्ने ७५ विद्यार्थी जोगबनी हुँदै फर्किए नेपाल
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
693
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका कारण असुरक्षित महसुस गर्दै नेपाली विद्यार्थीहरु फर्किने क्रम जारी रहेको छ । बुधबार पनि थुप्रै विद्यार्थी फर्केका छन् ।
वीरगञ्ज नाका हुँदै १२६ विद्यार्थी फर्केकामा मोरङको जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी फर्केका छन् । बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआईआईटीमा अध्ययनरत विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो।
त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन् । मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए ।
यस्तै सप्तरीका १६ जना र सुनसरीका ११ जना विद्यार्थी फर्केका छन्।
काठमाडौं, सिरहाका ३–३ जना, सर्लाही २, जनकपुर २, ललितपुर १ र उदयपुरका १ जना विद्यार्थी फर्किएको यादवले बताए।
लम्सालले आफूलाई कलेजमा अध्ययनरत एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् । तर विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।
आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी–लेखेटी कुटपिट गरेका थिए।
उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ।
छानबिनका लागि उच्चस्तरीय समिति बनिसकेको छ । नेपाली विद्यार्थी कुट्ने गार्डहरु पक्राउ परेका छन् भने प्रकृतिलाई मानसिक तनाव दिने आरोपी पक्राउ परिसकेका छन् ।
दुई देशबीच कूटनीतिक संवाद चलेसँगै नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्केर अध्ययन गर्न आग्रह गरिएको छ ।