काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता शुरु भएको छ । आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।
फागुन १९ सम्म आयोजना हुने प्रतियोगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।
यता प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कप फुटबल च्याम्पियनशिप उद्घाटनअघि ओलीले आफ्नो ७४औं बर्थ डे केक काटेका हुन् ।
ओलीले केक काटेर श्रीमती राधिका शाक्यलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसर पारेर केपी ओली कप फुटबल प्रतियोगिता शुरु भएको हो ।