गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन - मन्त्री लेखक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
926
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरे। उनले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरूप काम हुन नसकेको समेत बताए। जनताले अनुभूत गर्ने गरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ । उनले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनः स्थापना र क्षतिको पुनः निर्माणको कामले लय समातेको समेत उल्लेख गरे ।
उनले भने,‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनः स्थापना र क्षतिको पुनः निर्माणको कामले लय समातेको छ । नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्ने गरी कानून कार्यान्वयनमा गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ । स्रोत र साधनको सीमितताको बीच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरूप काम हुन नसकेको होला । तर पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरि जनताले अनुभूत हुने गरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भीर र संवेदनशील ढङ्गबाट काम गरिरहेको छ ।’
उनले मुलुकमा सुशासन र विधिको शासन कायम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको समेत बताए।