काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत-अनुदान पाउन सकेका छैनन् । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा बाढिपहिरोपीडितले राहत नपाएका हुन् ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक-पटक ‘गाँस-बास-कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।
समितिले पछिल्लो पटक गत बिहीबार प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरेको हो । राहत-अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । जिल्लाका १३ स्थानीय तहमध्ये पाँच वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको यकिन विवरण टुङ्गो लगाएको समितिले जनाएको छ । समितिको गत बिहीबारको बैठकले तत्काल विवरण प्रविष्ट गर्न ताकेता गर्ने निर्णयसमेत गरेको थियो ।
जिल्लाका धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरैदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् ।
“विवरण छानबिन गर्दैछौँ, केही हप्तामा सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भने । पोर्टलमा प्रविष्ट विवरण अनुसार धुलिखेल नगरमा ८६, नमोबद्धमा आठ सय २४, रोशीमा पाँच सय ४८, चौरीदेउरालीमा दुई सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको तथ्याङ्क छ । समितिले ती तहको अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्राधिकरणबाट निकासा भए लगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । स्थानीय तहले अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण पोर्टलमा प्रविष्ट गरी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रावधान रहेको छ, भने जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्रै रकम निकासा हुनेछ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक-पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए ।