मानव अधिकार हनन कर्ताहरूलाई कानूनको दायरामा ल्याउँछौँ - प्रधानमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
716
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताए ।
उनले यस्ता असामाजिक क्रियाकलापहरू मानव अधिकारको विरुद्ध रहेको जिकिर गर्नुभयो । सरकारले मानव अधिकार रक्षकहरूको, मानव अधिकारका लागि लड्ने योद्धाहरूको सम्मान गर्ने पनि बताए । मानव अधिकार रक्षकहरूको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताए । मानव अधिकार हनन कर्ताहरूलाई कानूनको दायरामा ल्याइने प्रतिबद्धता जनाउनु भयो । इमानदार भएर सही उद्देश्यका लागि सङ्घर्ष गर्नु सजिलो नभएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन् । यस्ता असामाजिक खालका क्रियाकलापहरू मानवहरूका विरुद्ध छन् । हामी मानव अधिकार रक्षकहरूको, मानव अधिकारका लागि लड्ने योद्धाहरूको सम्मान गर्दछौँ । सुरक्षा प्रदान गर्दछौँ । उनीहरूको सुरक्षाका लागि सरकारले काम गर्दछ । कानूनमा कमी छ भने त्यस्ता कमीहरु सरकारले हटाउँछ र मानव अधिकारको रक्षा गर्दछ, मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ । मानव अधिकार हनन कर्ताहरूलाई कानूनको दायरामा ल्याउँछ । यो अहिलेको सरकारको मानव अधिकार सम्बन्धी नीति हो । थुप्रै अग्रजहरूले मानव अधिकारका निम्ति धेरै योगदान गर्नुभएको छ । उनको आदार, सम्मान गर्न चाहन्छु । इमानदार भएर सही उद्देश्यका लागि सङ्घर्ष गर्नु सजिलो छैन । सङ्घर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ । जे बोल्दा पनि हुने कुरा गर्न सजिलो हुन्छ । तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि सङ्घर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन ।’
प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रूपमा प्रत्याभूति नभई सम्भव नरहेको बताए ।