पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति माओवादी केन्द्रको विरोध [भिडियो]
ग्रे लिष्टमा मुलुक परेको बेलामा जनताको भरोसाको केन्द्र बन्नुको सट्टा सरकार विवेक गुमाउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
721
Shares
काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विरोध जनाएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विरोध जनाएका हुन् । ग्रे लिष्टमा मुलुक परेको बेलामा जनताको भरोसाको केन्द्र बन्नुको सट्टा सरकार विवेक गुमाउँदै गएको महसुस भएको उनको भनाइ छ ।
उनले जेलभित्र रहेका २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय बिरामी भएको भन्दै गृह मन्त्रालयसँग जवाफ समेत माग गरे । उनले सरकार जनताका समस्या समाधान गर्नुभन्दा मुलुकलाई थप आर्थिक सङ्कटतर्फ धकेलिरहेको बताए ।
उनले भने, ‘जेलभित्र रहेका नागरिकहरू जे कारणले जेलमा गएको भए पनि राज्यले सुरक्षा र व्यवस्थित गर्ने जिम्मेवारी लिएको हुन्छ । सभामुख महोदय, २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय जना बिरामी भएको सूचना प्राप्त भएको छ । के भएको हो ? किन भएको हो ? सम्बन्धित निकायले प्रष्ट पार्न अनुरोध गर्न चाहन्छु । सरकारसँग विवेक हुनुपर्छ स्वार्थ होइन । सरकारसँग इमान हुनुपर्छ । जनताको भरोसाको केन्द्र भनेको सरकार हो । तर पूर्व विशिष्ट पदाधिकारीहरूलाई सेवा सुविधा दिने कुरा यस्तो बेला भएको छ कि ग्रे लिष्टमा देश परेको छ । ट्रान्सपरेन्सीले नेपाल भ्रष्टाचारयुक्त देशको सूचीमा सूचिकृत गरेको छ । यस्तो बेलामा जनताको आशाको केन्द्र बन्नुपर्नेमा, जनतालाई राहत दिने बेलामा आजीवन सुविधा दिन कानून बनाएर सरकारले विवेक गुमाउँदै गएको महसुस भएको छ । यसो नगर्नको निम्तिको जनताको प्रभावकारी काम गर्नको निम्ति सरकारको ध्यानाकर्षण गराउँछु । ’