हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन - प्रम ओली [भिडियो]
अराजकता सिर्जना गरेर केही मान्छेहरूले सजिलो हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
802
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले नेपाली जनता धेरै लामो समय सङ्घर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरूको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे ।
लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने ? भन्ने रहेको बताए । उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरे।
प्रधानमन्त्री ओलीले भने, ‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ? ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्ने कुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगन्जसम्म त खुला उद्घोषका साथ मान्छेहरूले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानूनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरूले सजिलो हुन्छ, अस्तव्यस्त कायम गर्न । केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरू केही देशहरूमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय सङ्घर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’