पिकेमा भूपीको समूह विजयी, पार्टी संस्थापनबाटै गगन समूहलाई रोक्ने प्रयास असफल
देउवासँगै शेखर र शशांकको पक्ष एक ढिक्का भए पनि सकेन, देखियो नयाँ पुस्तामा गगन प्रभाव
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
3.2k
Shares
काठमाडौँ । पद्मकन्या क्याम्पस पिकेको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । बिहीबार निर्वाचन सकिए लगत्तै भएको मतगणनामा नेविसंघको भूपी ऐरको समूह विजयी भएको हो ।
नेविसंघकै स्वतन्त्र समूह गठन गरेर निर्वाचनमा होमिएकी ऐरले नेविसंघकै पूर्णिमा परियारलाई हराएकी हुन् । ऐरले ७३० मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी परियारले ३७९ मतमात्र ल्याएकी थिइन् ।
त्यसैगरी स्वतन्त्र समूहबाटै सन्ध्या बस्यालले ६९५ मत ल्याएर विजयी हुँदा नेविसंघबाट उम्मेदवार भएकी बिपना न्यौपानेले ३६१ मत ल्याएकी थिइन्।
प्रत्यक्ष निर्वाचनमा सबै पदमा ऐर नेतृत्वको स्वतन्त्र समूहले नै विजय हासिल गरेको छ। समानुपातिकमा भने स्वतन्त्रसहित अन्य संगठनहरुले पनि केही पदमा चित्त बुझाएका छन् ।
पार्टी महामन्त्री गगनकुमार थापानिकट भूपी यसअघि स्ववियु सचिव रहेकी थिइन् । नेविसंघ केन्द्रले शुरुमा उनलाई टिकट नदिएर स्ववियु सदस्य पूर्णिमा परियारलाई टिकट दिएको थियो।
टिकट वितरणमा नेविसंघ केन्द्रले पक्षधरता देखाएको भन्दै निर्णय सच्याउन विद्यार्थीस्तरबाट व्यापक दबाब परेको थियो । त्यसपछि नेविसंघ केन्द्रले भूपीलाई समर्थन जनाउने वक्तव्य निकालेको थियो ।
गगन निकट रहेकी भूपीको विरुद्धमा संस्थापन पक्षकी पूर्णिमा परियारले उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाहरू, कांग्रेस नेता डा शेखर कोइराला र पूर्व महामन्त्री डा शशांक कोइराला समेतको समर्थन रहेको थियो।
पद्मकन्याको परिणामले नेविसंघसँगै नयाँ पुस्तामा गगन पुस्ताको प्रभावलाई पनि उजागर गरेको छ।