रौतहट । बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति पुगेको छ । जिल्लाको चन्द्रपुर, बृन्दावनसहित उत्तरी भेगमा शनिबार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै, गहुँसहित अन्य बालीमा बढी क्षति पुगेको स्थानीय किसान बिरेन्द्र चौधरीले बताए ।
चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले ध्वस्त पारेको छ । अबको एक–दुई महिनामै घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ ।
मकै खेती गर्दा बिरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको उनले बताए ।
तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षती गरेको स्थानीय कृषकहरुले बताएका छन् ।
असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर जस्ता बालीमा बढी क्षती गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फूल अर्थात् बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षति पुगेको उनीहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तिबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।
असिना पानीले खपडा, फुस, टाली घर पनि क्षती पुगेको स्थानीयले बताएका छन् । हिउँदे वर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरु बताउँछन् ।
असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।