arrow

प्रतिनिधि सभामा कुलमानको बर्खास्ती

कुलमानको बर्खास्तीबारे माओवादी केन्द्रले संसद्‌मा के भन्यो ? [भिडियो]

ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
shakti-12-13.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत् प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले यस्तो आरोप लगाएका हुन् । 

उनले कुलमान घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत् प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने भएको आरोप लगाउनु भयो । उनले वर्तमान सरकार स्वार्थ समूहको पृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण बिचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको समेत टिप्पणी गर्नुभयो । सरकारले आफ्नो दुई तिहाइको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न प्रदर्शन गरिराखेको उनको आरोप छ ।

उनले भने, ‘सरकार स्वार्थ समूहहरूको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र बिचौलियाहरूको हित र रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ । लोकतन्त्रमा सङ्ख्या महत्त्वपूर्ण कुरा हो । तर सङ्ख्याका पहाडहरू जनचाहानाका सामु गर्ल्यामगुर्लम ढलेका इतिहासहरू र अनुभवहरू हाम्रै वरिपरि छन् । सरकारले यसतर्फ ध्यान दिइराखेको छैन । यतिबेला सरकारले आफ्नो दुई तिहाइको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थामाथि आफ्नो सामर्थ्य प्रदर्शन गरिराखेको छ । सभामुख महोदय स्पष्टीकरणको नौटङ्की कुलमान घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत् प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने खेल हो भन्ने कुरा आम जनताले बुझेका छन् । र आम जनता यस विषयमा स्पष्ट छन् ।’

सरकार एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको उनको आरोप छ । उनले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै आफ्नो अभिव्यक्ति टुङ्ग्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ