काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता हुने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सोही समयमा साइडलाइन वार्ता हुने भएको हो ।
सो सम्मेलन उद्घाटनपछि शुक्रबार ‘साइडलाइन’ वार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
पछिल्लो समयमा नेपाल र भारतबीच सरकारी तहमा सम्बन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो ओली र मोदीबीचको वार्ता हुन लागेको हो ।
प्रायः प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने बानी परेका नेपालका प्रधानमन्त्रीले यसपालि त्यो अवसर पाएनन् । ओली गत असार अन्तिममा प्रधानमन्त्री भए पनि अहिलेसम्म भारत जान पाएका छैनन् ।
यसअर्थमा पनि शुक्रबारको ओली–मोदी वार्ता विशेष हुने अपेक्षा गरिएको छ ।