प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच दुईपक्षीय भेटवार्ता हुँदै, त्यसअघि बिमस्टेक सम्मेलनलाई सम्बोधन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
769
Shares
बैङ्कक । आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । बैङ्ककस्थित होटेल साड्ग्रिलामा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने भएको हो । बिमस्टेक सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ ।
त्यसअघि प्रधानमन्त्रीओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरूबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
बिमस्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।