व्यावसायिक वातावरण बिग्रन दिन्नौँ - प्रधानमन्त्री ओली [भिडियो]
देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, सुशासनसँगै सेवा प्रवाह कसरी सहज गर्न सकिन्छ भन्नेमा सरकार लागेको छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
649
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिए पनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताए।
उनकाअनुसार नीतिगत अस्थिरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो । देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य गर्न सरकार कटिबद्ध रहेको पनि बताए । सङ्घीयताको शुरु शुरुमा हरेक पालिका सरकारले आफैँ कर उठाउन ठाउँ ठाउँमा बाँस तेर्स्याइएको बताए । प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्याउनका लागि संघीय प्रणाली स्थापित गरिएको बताए । निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले ल्याएका अध्यादेशहरू सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उनको भनाई छ ।
उन भने– ‘सरकारको विश्वसनीयता, सरकारका नीतिहरू छिनछिनमा अनपेक्षित तवरले बदलिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरू पनि उच्चरण नगर्ने, नीतिगत अस्थिरताको अन्त्य गर्न यो सरकार बनेको हो । देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, सुशासनसँगै सेवा प्रवाह कसरी सहज गर्न सकिन्छ भन्नेमा सरकार लागेको छ । सङ्घीयताको शुरु शुरुमा हरेक पालिका ठाउँ ठाउँमा कर उठाउन बाँस तेर्साए । आफैँ सरकार हो, ट्याक्स लगाउने अधिकार छ भने एउटा बाँस किन नतेर्साउने बाटामा, बाँस तेर्साइ हालौँ, कर उठाइ हालौँ । अधिकारका लागि लाडियो, अधिकार छ, अधिकारको प्रयोग गरिन्छ भन्ने बुझाइ भयो ।’