नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य - एमाले [भिडियो]
नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानूनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
781
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानूनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर गरे ।
उनले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको आपसी समझदारीको जगमा नीति तथा कार्यक्रम आएको बताउँदै यसले विद्यमान चुनौतीहरू सामना गर्दै नीतिगत स्थिरता कायम गर्ने विश्वास व्यक्त गरे । नीति तथा कार्यक्रम घोषणात्मक र आकर्षक शब्दहरूमा सीमित नभई, मुलुकको वास्तविकता र सीमामा आधारित रहेको बर्तौलाको जिकिर छ । सरकारको नीति तथा कार्यक्रमले देशमा नीतिगत स्थायित्व ल्याउने, दीर्घकालीन योजना कार्यान्वयनको बाटो खोल्ने र वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, कानूनको कसीमा एकदमै कमजोर, स्रोत साधनविहीन तथा लोरिझ्याइँ मात्र गर्ने छैन । सुन्दा कर्णप्रिय जस्तो लाग्ने, घोषणाको पुलिन्दाभन्दा धेरै माथि उठेर मुलुकको विद्यमान आर्थिक, सामाजिक परिवेशको वास्तविक सीमा र धरातलमा टेकेर यथार्थपरक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुने गरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ । सत्ता साझेदार दलहरू विषेशगरी नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा भएको आपसी समझदारीको जग र आलोकमा यो नीति तथा कार्यक्रम आएको हामी पाउँछौँ । त्यसैले यसले आजको विद्यमान चुनौतीहरूलाई सामना गर्दै अगामी दिनमा मुलुकलाई नयाँ ढङ्गले दिशा निर्देश गर्ने तथा नीतिगत स्थिरता कायम गर्ने यो कोशे ढुङ्गा साबित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।’
प्रमुख प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।