गभर्नर नियुक्तिमा ढिलाइले देशकै बेइज्जत, सक्षम व्यक्तिलाई नियुक्त गरियोस् - रेखा शर्मा [भिडियो]
दुई तिहाइको बलियो सरकारले पनि गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलहरूको दलगत स्वार्थ नमिल्नु भएको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
615
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले गरेको ढिलाइप्रति आपत्ति जनाउँदै यसले मुलुककै बेइज्जत भएको बताएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले दुई तिहाइको बलियो सरकारले पनि गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलहरूको दलगत स्वार्थ नमिल्नु भएको आरोप लगाइन्। उनले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई तत्काल गभर्नर नियुक्त गर्न सरकारसँग आग्रह गरिन्।
उनले भनिन्, ‘नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको विषय संसदभित्र, संसद बाहिर र मिडियामा लामो समयदेखि चर्चा भइरहेको छ। देशलाई ग्रे लिस्टबाट मुक्त गर्नुपर्नेछ, अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेछ। तर गभर्नर नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने कुरा बाहिर आइरहेको छ। यस्तो अवस्थामा यति बलियो दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न चाहन्छु। गभर्नर नियुक्तिको विषयमा बाहिर चर्चा भइरहेको छ, सरकारमा आबद्ध दलहरूको दलगत स्वार्थ नमिलेर वा अन्य कारणले नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ, त्यसले राष्ट्रकै बेइज्जत भइरहेको छ। त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु।’
उनले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको पनि बताइन्।