सरकार 'सरकार जसरी' चलेको छैन: कांग्रेस सांसद गौतम [भिडियो]
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
833
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपनि सरकार 'सरकार जसरी' सञ्चालनमा नआएको टिप्पणी गरे। उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाउँदै वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताए। उनले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप समेत लगाए। सांसद गौतमले राष्ट्रिय सहमति निर्माणको आवश्यकता औंल्याउँदै शीर्ष नेताहरूले टाउको जोड्नुपर्ने बेला आएको बताए।
उनले भने, ‘सरकार हाम्रो छ, कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ। तर सरकार सरकार जसरी चलिरहेको अनुभूति गरिरहेको छैन म। संसद पनि जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन। न्यायपालिकातिर पनि जनताको आशा, भरोसा पैदा नभएको जस्तो लाग्छ। जनता निराश छन् सभामुख महोदय। हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं। एक किसिमको नयाँ सोच र नयाँ सम्भावनाहरू सिर्जना गर्न सकिरहेका छैनौं। एकपल्ट सबै शीर्षस्थ नेताहरू टाउको जोड्नुस्। अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छु।’
राष्ट्रिय सहमति निर्माण गरेर मात्र मुलुकलाई गन्तव्यमा पुगाउन सकिने उनको भनाइ छ। राष्ट्रिय सहमतिमा अगाडि बढ्न अझै ढिला गरे व्यवस्था, संघीयता र सरकारको औचित्य सकिने उनले टिप्पणी गरे।