किसानलाई समयमै मलखाद उपलब्ध गराउन सांसद केसीको सरकारसँग माग
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
2.4k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले किसानलाई समयमै मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले कृषि कोल्ड स्टोरको नाममा गएको ५ अर्ब ६७ करोड रुपैयाँ अनुदानको अनुसन्धान र छानबिन गरी जवाफ दिन सरकारसँग आग्रह गरे। उनले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भए पनि आवश्यक मल अझै नआएकोमा आपत्ति जनाए। समयमै मलखाद नपाउँदा किसानलाई बढी मर्का पर्ने बताउँदै उनले अहिलेको कृषि बजेट पर्याप्त नभएको टिप्पणी गरे।
सांसद केसीले भने, "कृषिमन्त्रीजीले एक, डेढ महिनाअघि कृषि मन्त्रालयबाट विगत ५ वर्षमा सात अर्ब ६६ करोड अनुदान वितरण भयो, त्यस्तो वितरण कति वास्तविक किसानले पाएका छन्? कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक तथा आर्थिक स्वार्थमा भयो, त्यसलाई छानबिन गर्छु भनेर सार्वजनिक प्रतिबद्धता गर्नुभयो, त्यसको सम्बन्धमा के हुँदैछ? हरेक वर्ष हामीलाई झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता छ। त्यो मल साढे ४ देखि ६५ लाख भन्दा बढी लिन नसक्ने अवस्था छ। कृषिको सिजन कुन हो, कुन बेलामा मल चाहिन्छ, त्यो बेलामा सरकार टु सरकार वा टेण्डरबाट लिइसक्नुपर्ने कुरा प्रत्येक सरकारले बुझ्नुपर्छ। जुन बेला मलको आवश्यकता छ, त्यही बेलामा टेण्डर हुँदैछ भन्ने परिस्थिति छ, त्यसले झनै किसानलाई बढी मर्का परेको छ। अहिलेको कृषि बजेट पर्याप्त छैन।"
सांसद केसीले बजेटको निरन्तरतामा पक्षपात नगर्न आग्रह गर्दै कृषि विकास राष्ट्रिय आवश्यकता भएको बताए।