arrow

एमालेको आरोप - संसदबाटै जनतामा निराशा फैलाइयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
mahedh-bartaula-02.jpg

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदलाई कमजोर देखाउने गरी नीरस अभिव्यक्तिहरू आएकोमा असन्तुष्टि व्यक्त गरे। उनले जनतामा निराशा बढिरहे पनि सरकारले त्यसलाई आशामा बदल्न प्रयास गरिरहेको बताए। नागरिकको भरोसा कमजोर बनाउने गरी प्रायोजित अभिव्यक्तिहरू दिइएको आरोप पनि उनले लगाए। दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले आफू सत्तामा भएको भए जादुगरले जस्तो काम गर्छु भनेर भ्रम फैलाइएको टिप्पणी गरे।

प्रमुख सचेतक बर्तौलाले भने, ‘वर्षाको सिजन सुरु हुन थालेको छ। जेठ १ गते राति हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरो आयो। सिंगो बस्ती त्रसित छ। गाउँका स्थानीयहरू अहिले चौरमा बस्नुपर्ने अवस्था छ। सरकारसँग आग्रह छ कि यस्ता घटनाहरू देशका अन्य ठाउँमा पनि क्रमशः हुन सक्छन्। सरकारको पूर्व सावधानी र पूर्व तयारी प्रभावकारी ढंगबाट हुनुपर्छ। नाम्खा गाउँपालिका तिलगाउँका बासिन्दाहरू जुन त्रसित अवस्थामा छन्, उहाँहरूको तत्काल उद्धार, पुनर्स्थापना र आवश्यक राहतको व्यवस्था सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अब संसदको प्रभावकारिता र त्यसमा आफ्नो भूमिकाबारे समीक्षा गर्ने विषय एकातिर होला। तर, संसदलाई सामान्यतया कमजोर देखाउने प्रयत्नमा अभिव्यक्तिहरू आइरहेका छन्। सबैभन्दा बढी बोल्ने सांसदहरूबाट नै त्यस्ता अभिव्यक्ति आउने गरेको छ। प्रायोजित ढंगबाट राज्यका अंगहरू र महत्वपूर्ण संस्थाहरूमाथि नागरिकको भरोसा कमजोर बनाउने बदनियतपूर्ण प्रयत्नबाट पनि यस्ता अभिव्यक्ति आइरहेका छन् भन्नेतर्फ सिंगो सदन सचेत हुनुपर्छ। र, संसदको समग्र प्रभावकारितामा सिंगो सदन, सबै राजनीतिक पार्टीहरू र संसदीय दलका सदस्यहरू जिम्मेवारीबोधका साथ प्रस्तुत हुनुपर्छ। वर्तमान समयमा सरकारको सन्दर्भमा बोलिने अभिव्यक्तिहरू हेर्दा निराशाको सञ्चार संसदबाटै गरिएको छ। संसदलाई कमजोर देखाउने गरी नीरस अभिव्यक्तिहरू आइरहेका छन्।’

उनले जादुगरले कागजको पत्ताबाट हजारको नोट निकाले जस्तै क्षणिक भ्रम सिर्जना गर्नेहरूबाट यस्ता अभिव्यक्ति आइरहेको टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ