सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्यो, भ्रष्टाचारले देश बन्न सकेन : शेखर कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
897
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाउँदै भ्रष्टाचारका कारण मुलुकको विकास हुन नसकेको टिप्पणी गरेका छन्।
नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति’ विषयक अन्तरक्रियामा बोल्दै डा. कोइरालाले यो कुरा बताएका हुन्। उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने नेपालीहरूले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा बेचेर उतै घरबार जोड्ने गरेको उल्लेख गरे। ठूला देशमा बस्नेहरूबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो। उनले सबैतिर भ्रष्टाचार र अनियमितता व्याप्त रहेको भन्दै सरकारको आलोचना गरे।
डा. कोइरालाले भने, ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं। सुशासन छैन। सबैतिर करप्सन छ। सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनु हुँदैन। त्यसको अन्त्य गर्नुपर्छ। त्यति कुरा हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ। देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ। मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो। देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेका छन्।’
उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरूले नै यसलाई धानिरहेको दोहोर्याए।