विपद् न्यूनीकरणका लागि देशभर स्वयंसेवक परिचालन गरिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
681
Shares
ललितपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा अघि बढाइएको बताएका छन्।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले यसअघि विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र यस पटकदेखि सरकारले विपद्को क्षति न्यूनीकरणका लागि यो काम सुरु गरेको उल्लेख गरे। उनले विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताउँदै विपद्को बेला तीनै तहका सरकारसँग समन्वय गरेर काम गरेमा मात्र सफलता प्राप्त हुने जनाए।
"योभन्दा पहिला हामीले स्वयंसेवक गठन गर्न र यो काम गरेका थिएनौँ। यो नयाँ काम हामीले गरिरहेका छौँ," भट्टले भने, "विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुन्छ। विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ। विपद्को बेलामा काम गर्ने जनशक्ति प्रशिक्षित भएन भने उद्धार गर्न जाने मान्छे खतरामा पर्छ। त्यसैले स्वयंसेवक विकास गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको सुरुवात गर्न खोजेका छौँ।"
उनले ललितपुर महानगरपालिकाबाट सुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्याउने लक्ष्य रहेको र देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा अघि बढाइएको बताए।