प्रधानमन्त्री ओलीको चेतावनी: 'रैती बन्न तयार' समूह सक्रिय छ, प्रतिवाद गरौँ [भिडियो]
नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरूले नागरिकमा असन्तुष्टि बढाएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
791
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरू सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गरेका छन्। आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रवादी शक्तिहरू चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानी जनतालाई रैती बनाउन केही मानिसहरू लागिपरेको आरोप लगाए। प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू बिहान-बेलुकै पूर्वराजा शाहको वरपर घुमिरहेको भन्दै "नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरूले नागरिकमा असन्तुष्टि बढाएको" दाबी गरे।
उनले प्रतिगामी शक्तिहरूले व्यवस्था र संविधानविरोधी काम गर्न सामाजिक सञ्जालमा लगानी गरेको आरोप लगाउँदै, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा जनतामा असन्तुष्टि, समाजमा नकारात्मक सोच र भ्रम छर्ने उद्देश्यले योजनाबद्ध लगानी भइरहेको बताए।
ओलीले भने, "अहिले राजनीति अलि भाँडिएको छ। प्रतिगामी तत्वहरू निकै धेरै सक्रिय छन्। हामी चुपचाप लागेको हुनाले उनीहरूको मनोबल माथि उठेको छ।" उनले लोकतान्त्रिक प्रणाली जनताको हजारौं वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त जनअधिकार भएको र यसलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले निर्वाचित वडाध्यक्षहरूलाई प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्न सक्रिय भूमिका खेल्न आग्रह गरे।