काठमाडौँ । प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सांसदहरूले अवरोध सिर्जना गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरे।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले गृह प्रशासनको नाक मुनि अवैध र्याकेट चलेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
राप्रपाले पनि सँगसँगै विरोध गरेको छ । तीन ठूला विपक्षी दलले विरोध गरेपछि गृहमन्त्री लेखकले संसदमा सम्बोधन गर्नसमेत पाएनन् । संसद अवरुद्ध भएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।