काठमाडौँ । काठमाडौँ उपत्यकालाई डुबानबाट जोगाउन सरकारले महत्त्वपूर्ण कदम चालेको छ। उपत्यकाको जल निकासका रूपमा रहेको चोभारको खोचस्थित बागमती नदीमा रहेका अवरोधहरू हटाउने निर्णय गरिएको छ।
बुधबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यो निर्णय गरेको हो। सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनामार्फत चोभार खोचमा भएका अवरोधहरू हटाइनेछ। गत वर्ष चोभारमा बागमती नदीको बहावमा अवरोध भई तटीय क्षेत्रमा डुबान भएको निष्कर्षका आधारमा यो कदम चालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए।
बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ समेत स्वीकृत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार जेठ १८ देखि असार १६ गतेसम्म सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ भने असार १७ देखि साउन १५ र साउन १६ देखि भदौ १५ सम्म वर्षा कम हुने सम्भावना छ।
गृहमन्त्री लेखकले प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार अहिलेदेखि नै काम थाल्न निर्देशन दिएका छन्। बैठकमा गृह, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवहरू, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाली सेनाका उच्च अधिकृत, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न मन्त्रालयका सहसचिवहरूको उपस्थिति थियो।