मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ, एमालेको जुलुसभन्दा राप्रपाको जुलुस ठूलो हुनु युवाहरूमा आएको नैराश्यताको परिणाम
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
961
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण र मूल्य–मान्यताका लागि फेरि लड्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन्। उनले गलत काम नगर्न र सही काम गर्न नसके चुपचाप घरमै बस्न सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिनानुदिन बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताले देशलाई अप्ठ्यारोमा पारेको भन्दै सुशासन दिन सक्नुपर्नेमा जोड दिए।
डा. कोइरालाले नेकपा एमालेका पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ' भन्ने अभिव्यक्ति दिएको विषयमा आपत्ति जनाए। उनले राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सचेत गराएपछि प्रधानमन्त्री ओली आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नगएको आरोप लगाए।
"राष्ट्रिय मानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ, उहाँहरूले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो," कोइरालाले भने, "भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो। उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन। प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो। राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ?"
उनले आफूलाई पदाधिकारीको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने लागेको तर आफ्नो बारेमा छलफल भएको भन्दै त्यसप्रति हाँसो लागेको बताए।
सांसद कोइरालाले एमालेको जुलुसभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको विश्लेषण गरे। उनले अहिलेका नेताहरूको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए।
"किन कमजोर भयो? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन। युवाहरूमा नैराश्य रहेको छ। उनीहरूले बाटो खोजिरहेका छन्," उनले भने, "उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही ४ जनाको म्युजिकल चियर देखेका छन्। अनि उनीहरू कहाँ जाने? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ।"
उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जग हल्लिने बताउँदै, त्यस्तो व्यक्तिले राजनीति गर्न नहुने र राजनीति गर्दा नैतिकवान भएर गर्न सुझाव दिए।
सांसद कोइरालाले कांग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताउँदै, सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्नेमा जोड दिए। उनले बजेट कर्णप्रिय रहेको तर कार्यान्वयन पक्षलाई सुधार गर्न जरुरी रहेको धारणा व्यक्त गरे।