काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गए राति स्वदेश फर्किएकी छिन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपाल सो सङ्गठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी थिए। यो सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशका कम्पनी वा नागरिकबीच तथा विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ।
यस कार्यक्रमकै सिलसिलामा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी डा. राणाले दिइन्।
उनले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन्।
मन्त्री डा. राणाले भनिन्, “यस वर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ परेकाले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ।”
डा. राणाले नेतृत्व गरेको यस नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकसहित परराष्ट्र मन्त्रालय र महावाणिज्य दूतावास हङकङका प्रतिनिधि सहभागी थिए।