अब बामे सरेर हुँदैन, रकेटको चालले विकास गर्छौं - ओली [भिडियो]
भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
697
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरूमा भइरहेको ढिलासुस्तीलाई भ्रष्टाचारभन्दा ठूलो अपराध भएको बताएका छन्।
उनले प्रविधि र कृत्रिम बुद्धिमत्ताको यो युगमा 'बामे सरेको चाल' नभई 'रकेटको चाल'मा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको 'एक निर्वाचन क्षेत्र एक सडक' योजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्। उनले भ्रष्टाचारले आयोजनाको लागतको १० प्रतिशतसम्म मात्रै असर गर्ने भए पनि ढिलासुस्तीले आयोजनाको शतप्रतिशत मूल्य बढाउने र हजारौँ प्रतिशत उपलब्धि गुमाउने बताए।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा पनि कडाइका साथ ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले विकास निर्माणका कामलाई रकेटको गतिमा सम्पन्न गर्न सरकार लागिपरेको दाबी गरे।
उनले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ति हो । भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला । तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुदैन । त्यस कुरामा सरकारको ध्यान गएको छ ।’
उनले मधेस प्रदेशमा निर्माणाधीन क्रिकेट रङ्गशालाहरू सम्पन्न गर्नका लागि पनि सरकारले योजना बनाइरहेको जानकारी दिए।