सीप मेला, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्तः मुख्यमन्त्री लामा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
602
Shares
फाइल तस्बिर
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सीप मेला युवा लक्षित सीप सिकाइ, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेलाको आज अवलोकन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।
महानगरले यही जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेसासँग सम्बन्धित १०० घण्टे तालिम सञ्चालन गरिरहेको छ ।
मुख्यमन्त्रीले प्रशिक्षक र प्रशिक्षार्थीसँग प्रशिक्षण अभ्यासका विषयमा जानकारी लिएका थिए ।
मेला सञ्चालनको उद्देश्य र यसका अपेक्षित नतिजाका विषयमा जानकारी लिएपछि उनले भने, “एउटै छानामुनि परम्परागत सीपदेखि प्रविधिसम्मका सीप सिकाउनु उदाहरणीय काम हो, यसले सबै खालका सम्भावनामा युवाको पहुँच वृद्धि गर्छ ।”
उनले थपे, “तालिमले रोजगारमा जाने मात्र होइन आफैँ स्वरोजगार बनेर अरूलाई रोजगार दिने आत्मविश्वाश पनि दिएको पाएँ, यो खुसीको कुरा हो ।”
मुख्यमन्त्रीले प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट सञ्चालित तालिमहरूलाई एकीकृत गरेर सिटिइभिटीमार्फत एकद्वार प्रणालीमार्फत अगाडि बढाउने योजना बनाइएको र तालिम प्राप्त जनशक्तिलाई प्रणालीमा आबद्ध गराएर रोजगारदाताले खोजेको बेला पाउन सक्ने बनाउन लागिएको बताए ।