अनिर्णयको बन्दी बन्दै संसद, अझै बस्न सकेन प्रतिनिधि सभा बैठक
विपक्षीको एउटै बुझाइ – सरकारले पेल्योः माओवादी उपाध्यक्ष सापकोटाको मुद्दा अगाडि बढ्ने, रास्वपा सभापति सहकारी र संगठित अपराधमा हिरासतमा र नेकपा एसका अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
2k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । झण्डै दुई तिहाईको समर्थनसहित बनेको सरकारले बजेट ल्याएको भए पनि अहिलेसम्म प्रतिनिधि सभामा बजेटका विषयमा छलफलसमेत हुन सकेको छैन ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा संसदीय छानबिन समितिको माग गरेसँगै संसद चल्न दिएका छैनन् ।
संसदलाई अनिर्णयको बन्दी बनाइरहँदा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन । यद्यपि सरकारले संसदमा स्पष्टीकरणसमेत दिन सकेको छैन । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नो स्पष्टीकरण दिन नपाएको बताइरहेका छन् ।
यसअघि नै उनी संसदबाट आफ्नो स्पष्टीकरण दिन खोजेका थिए । तर विपक्षी दलहरुले उनलाई बोल्नसमेत दिएका छैनन् ।
विपक्षी दलहरुले बजेट पेश गर्न दिए पनि त्यसपछि कुनै छलफल भएकै छैन ।
पछिल्लो समय पतञ्जली योगपिठको जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मुछिएपछि त झन् प्रतिपक्षीहरु आक्रामक हुन थालेका छन् ।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जली जग्गा प्रकरण गराइएको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनामाथि मुद्दा दर्ता गरेको छ ।
विपक्षी दलहरुले यसलाई प्रतिरोध भनिरहेका छन् । विपक्षमा बस्नासाथ कारबाही प्रक्रिया अगाडि बढाइयो भने प्रतिरोध हुन्छ भने त्यस्तो प्रकरणमा सरकारमा भएका बेलामा किन मुछिन्छन् नेताहरु ? भनी गम्भीर प्रश्न खडा भएको छ ।
साथै पछिल्ला दिनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटासमेत सशस्त्र द्धन्द्धका समयमा भएको हत्या र अपहरण घटनामा जोडिएको छ उक्त मुद्दा अगाडि बढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै माओवादी पनि सशंकित बनेको छ ।
उता रास्वपाका सभापति रवि लामिछाने सहकारी गठी तथा संगठित अपराधमा प्रहरीको हिरासतमा रहेका छन् ।
यी माथिका तीन प्रकरणलाई एकैपटक सेटिङ गर्ने गरी विपक्षीले सरकारलाई दबाब दिएर प्रतिनिधि सभा अवरोध गरेको बुझिन्छ ।
अब प्रश्न उठ्छ के संसद अपराध ढापछोप गर्ने निकाय हो र ?
हैन भने संसदले गर्ने प्रक्रिया किन अगाडि बढिरहेको छैन भनी प्रश्न उठिरहेको छ ।