arrow

विपक्षी चार मिनेट ४० सेकेन्ड उभिए अनि शुक्रबारसम्म स्थगित भयो प्रतिनिधि सभा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
parliamant-82-2-29y.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष लगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो ।

निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे । सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराए ।

बैठकको कारबाही प्रारम्भ भएको जानकारी सभामुखले दिनासाथ विपक्ष दलका सांसदहरु चार मिनेट ४० सेकेन्ड उभिए अनि बैठक स्थगित भयो । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

यस बीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । 

सभामुख घिमिरेले बिहीबार पनि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ