arrow

संघीय संसद बैठक बस्दै: प्रतिनिधि सभामा अवरोध हट्ला त ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
parliament-82-2-13.jpg

काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने कार्यसूची रहेको छ। 

पछिल्लो समय  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई लिएर प्रतिनिधि सभा अवरोध हुँदै आएको छ । 

प्रतिनिधि सभामा विभिन्न राजनीतिक दलहरूबीचको मतभेदका कारण पटक पटक अवरोध हुँदै आएको सन्दर्भमा आजको बैठक अवरोधरहित हुनेछ वा छैन भन्ने चासो बढेको छ।

प्रतिनिधि सभाको कार्यसूची
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

त्यसलगत्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नेछन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित "आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको कार्यसूची
त्यस्तै, सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नेछन्।

यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि सोही बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ