कांग्रेस प्रमुख सचेतकको प्रश्न - रास्वपाले नैतिकता सिकाउन मिल्छ ? [भिडियो]
जेलमा रहेका सभापतिले नैतिकताको पाठ सिकाउने?
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
690
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अरूलाई नैतिकताको पाठ सिकाउन नमिल्ने भन्दै प्रश्न गरेका छन्।
आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले पाँच वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाए। उनले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूलाई आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरे।
घिमिरेले रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन भएको कुरा बाहिर नआएको बताउँदै अहिले पनि रास्वपाको संसदीय दलको नेतामा निलम्बित सांसद लामिछाने नै रहेको जिकिर गरे। उनले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने बताए।
प्रमुख सचेतक घिमिरेले भने, "अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, पाँचवटा मुद्दा उहाँमाथि छ। उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ। त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन? मेरो यो प्रश्न छ। अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म आग्रह गर्छु।"
उनले थपे, "रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन भएको कुरासमेत बाहिरिएको छैन। संसद सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ। जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यहीँ व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउन कति मिल्ने हो? कति जायज हो?"
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद अवरोध गर्दै आएको छ। आजको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्। यद्यपि, रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसदलाई अगाडी बढाएका छन्।