काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। संसदमा विरोध जारी रहँदा पनि 'जबरजस्ती' बैठक चलाइएको भन्दै राप्रपाले यस्तो कदम चालेको हो।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा विरोध भइरहेको बेला पनि बैठकलाई अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नभएको बताए। उनले जबसम्म संसदलाई यसरी नै जबरजस्ती अगाडि बढाउने काम भइरहन्छ, तबसम्म राप्रपा यस्तो 'कर्मकाण्ड'मा सहभागी नहुने जिकिर गरे।
अध्यक्ष लिङदेनले बैठक बहिष्कारको घोषणा गर्दै आफूहरूको बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे।
उनले भने, "अहिले यो संसदमा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसदको अभिभावक हो। संसदमा दुई राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिरहेका छन्। विरोध जारी राखिरहेको बेला जबरजस्त संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन।"
लिङदेनले थपे, "जबसम्म जबरजस्त यसरी संसद अगाडि बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन। हामी बहिष्कार गर्छौँ। हाम्रो बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था हो।"
उनले संसदमा १०० सिट भएको पार्टी र १ सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताए। साथै, उनले जसले कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले अहिले यसको उल्लङ्घन गरिरहेको जिकिरसमेत गरे।